

काठमाडौं,
काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले हराएको हो । पहिलो २ खेल जितेको नेपालको शृंखलामा यो पहिलो पराजय हो । नेदरल्यान्ड्सले आफ्नो टि २० आई इतिहासकै सर्वाधिक विशाल लक्ष्य पूरा गरेको हो ।
उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए । बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक एक विकेट लिए ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । नेपालको स्कोर ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो दोस्रो उच्च स्कोर हो । २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका थिए।
कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाउनुभयो । जारी सिरिजमा उहाँको यो लगातार तेस्रो अर्धशतकीय पारी हो । योसँगै कुशलले डेब्यू टी २० सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्वकीर्तिमान पनि बनाउनु भएको छ ।
त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रन बनाउनुभयो । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐरीको यो पहिलो अर्धशतक हो । कुशल मल्लले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाउनु भएको थियो ।
बलिङमा नेदरल्याण्ड्सका भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई दुई, बासडी लिडे र आर्यन दत्तले एक एक विकेट लिनुभएको थियो । समान तीन खेल खेलेको नेपाल २ खेलमा जितसहित ४ अंकका साथ नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान ४ अंक भए पनि दोस्रो स्थानमा छ ।

