२०८२ बैशाख १७, बुधबार
 

कोरोना सङ्क्रमितको संख्या फेरी उकालो लाग्दै

काठमाडौं,

नेपालमा कोरोना भाइरस (कोभिड–१९­) सङ्क्रमितको संख्या फेरी उकालो लाग्न थालेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ सङ्क्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते एकैदिन ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । सो दिन २१ हजार ३ सय १६ नमुना परीक्षण भएको थियो । यसरी हेर्दा संक्रमण दर ४४ दशमलव ४९ प्रतिशत हो, जुन दोस्रो लहरकै उच्च थियो ।

त्यसयता संख्यात्मक हिसाबले केही तलमाथि हुँदै संक्रमण विस्तारै ओरोलो लाग्यो र २० असारमा आइपुग्दा १ हजार ६ सय ३ मा झरेको थियो । यो संख्या दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो झर्ने संक्रमितको सबैभन्दा कम थियो । तर पछिल्लो तीन दिनयता कोरोना सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । असार २१ गते २ हजार ६ सय २२ कोरोना सङ्क्रमित थपिँदा २२ गते २ हजार ६ सय ३४ मा संक्रमण पुष्टि भयो । बुधबार नयाँ सङ्क्रमितको संख्या २ हजार ९ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षणबाट २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा पुष्टि भएको छ ।

देशभर पीसीआर विधिबाट सङ्क्रमित पत्ता लाग्ने दर फेरि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो । नियमित प्रेस ब्रिफिङमा डा. पौडेलले भन्नुभयो, ‘पीसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमण दर २५ प्रतिशतभन्दा कम थियो । तर आज संक्रमण दर २६ दशमलव ५ प्रतिशत पुगेको छ ।’

धेरै जिल्लामा निषेधाज्ञाका प्रावधानहरु खुलेका कारण पनि संक्रमण बढेको हुन सक्ने उहाँको भनाइ छ । ‘संक्रमणको जोखिम कायमै छ । सार्वजनिक सवारीका साधन गुडे पनि, सरकारी कार्यालय लगायत अन्य सेवा सञ्चालनमा आएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं’ डा. पौडेलले भन्नुभयो ।

मन्त्रालयका अनुसार ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्ला अझै पनि ९ वटा छन् । प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुर र गण्डकी प्रदेशको कास्कीमा सङ्क्रमित ५ सय भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । २३ जिल्लामा २ सय भन्दा बढी सङ्क्रमित रहेको पनि प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve + seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने