काठमाडौं,
काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा मंगलबारदेखि जोर बिजोर प्रणाली हटाइएको छ । जोर बिजोर प्रणाली हटेपछि काठमाडौंका सडकमा माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न थालेका छन् । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।
मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाइन्छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
माइक्रोको देस्रो र तेस्रो सिटमा चार चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन । सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।
यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ । परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरेका छन् । विद्यालयहरू भने खुल्न पाउँदैनन् । सभा तथा सम्मेलन गर्न पनि रोक लगाइएको छ ।