दोलखा,
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएसँगै उद्घाटन गरिएको छ । निर्माण शुरु भएको १२ वर्षपछि स्वदेशी लगानीमा सम्पन्न भएको नेपालकै सबैभन्दा ठूलो जलविद्युत परियोजनाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
४ सय ५६ मेगावाटको यो परियोजनाबाट सोमबारदेखि ७६ मेगावाट बिजुली उत्पादन शुरु भएको छ । यहाँबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनामा रहेका ७६/७६ मेगावाट क्षमताका ६ वटा टर्वाइनमध्ये एउटा चलाएर परीक्षण उत्पादन शुरु भएको हो । पूर्ण क्षमतामा चल्न थालेपछि आयोजना नेपालको जलविद्युत क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने नेपाल विद्युत प्राधिकरणको विश्वास छ ।
आयोजनाको भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युत सस्तोमा निर्यात गरेर आफ्ना उपभोक्तालाई महँगोमा बेच्न नहुने बताउनु भएको छ । उहाँले नेपालका उद्योगमा विद्युत उपभोगमा बढावा दिन पनि बिजुलीको मूल्य घटाउन आवश्यक रहेको बताउनुभयो ।
सोमबार बालुवाटारस्थित निवासबाटै भर्चुअल माध्यमबाट स्वीच अन गरी उक्त आयोजनाका उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्रीले माथिल्लो तामाकोशी देशको एक १० वर्षे उर्जा इतिहासकै नयाँ कोशे ढुंगा भएको बताउनुभयो । ‘अब हाम्रा चुलाहरुलाई दाउरा र ग्याँसबाट मुक्त गर्दै विद्युत्तीय चुलोमा परिणत गर्ने बाटो खुलेको छ’ उहाँको भनाई थियो ।
आयोजनाको सफल सञ्चालनले राष्ट्रिय आत्मविश्वाससमेत बढाएको टिप्पणी प्रधानमन्त्रीको थियो । ‘जुन कामका लागि हामी बाहिर भर पर्नुपथ्र्याे, अब विस्तारै त्यसमा पनि आत्मनिर्भरतातर्फ गइरहेका छौं’ प्रधानमन्त्रीले भन्नुभयो, ‘उर्जामा लगानी, प्रविधि र व्यवस्थापन नेपालीले नै गर्न सक्ने गरी बहुआयायमिक स्तर भएको छ । यो राष्ट्रिय लाभको विषय हो ।’
स्वदेशी लगानीमा निर्मित दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ मा रहेको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाबाट उत्पादित बिजुली ४७ कि.मि. लामो २२० के.भी. डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा स्थापित न्यू खिम्ती सव–स्टेसनमा पुर्याइएको छ । उक्त सव–स्टेसनबाट प्राधिकरणको ढल्केवरस्थित ४००/२२० के.भी. सव–स्टेसनमा पुर्याइ त्यहाँबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणालीमा आबद्ध गरिएको छ ।
आयोजनाअन्तर्गत बाँध/इन्टेक, सुरुङ, भूमिगत विद्युतगृह लगायतका सिभिल संरचनाहरूको निर्माण कार्य, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यहरू तथा ४७ कि.मि. लामो २२० केभी डबल सर्किट प्रसारण लाइन र २२०/१३२ केभी सवस्टेशनको सम्पूर्ण निर्माण कार्यहरू सम्पन्न गरी परीक्षण कार्यहरू समेत सम्पन्न गरिसकिएको छ ।
सुरुमा ६ वर्षमा आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजनाको शिलान्यास २०६८ जेठ ४ गते गरिएको थियो । पहिलो युनिटबाट परीक्षण उत्पादन थालेकै दिन प्रधानमन्त्री आफैंले उद्घाटन गर्नुले आयोजनामा आफ्नो नाम लेखाउने सरकारी हतारो प्रष्ट भएको प्राधिकरणकै अधिकारीहरू बताउँछन् । प्राधिकरणका एक अधिकारीका अनुसार यसअघि निर्माण भएका ठूला जलविद्युत परियोजना सबै युनिटबाट विद्युत उत्पादन शुरु नगरी उद्घाटन गरिएका थिएनन् ।