

काठमाडौं,
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदैछ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित एक सय ४६ सांसदको तर्फको बहस आइतबार सकिएपछि सोमबारबाट विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सुरु हुन लागेको हो ।
विपक्षीलाई बहसका लागि १५ घण्टा समय छुट्याइएको छ । सभामुखको तर्फबाट प्रतिनिधिसभा पुनस्थापनाका पक्षमा बहस हुने भएकोले बहसको समय केही लम्बिन सक्ने संकेत संवैधानिक इजलासले गरेको छ । चार दिनको बहसमा रिट निवेदकका तर्फबाट ३६ जना कानुन व्यवसायीले बहस गरेको सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो । रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको छ ।
विपक्षीले बहस गरेपछि रिट निवेदकको जवाफी बहसका लागि ३ घण्टा समय छुट्याइएको छ । त्यस्तै एमिकस क्युरीका ४ सदस्यका लागि आधा घण्टाका दरले २ घण्टा समय तोकिएको छ ।

