२०८३ बैशाख ५, शनिबार
 

कोभिड १९ को डेल्टा अनुभव

prabhu bank home loan

अश्विनी कोइराला

एक महिना लामो बिरामीपछि अलि लामो केही लेख्न मन लाग्यो । पत्रिकामा छाप्ने इच्छा थियो तर लेखिसकेपछि पत्रिकामा छाप्न लायक लागेन र यहीँ राखेँ । हात थरथर काँपेका छन्, त्यसैले रहरले यो लेखेको होइन । लेख्नुको अर्थ लेख्नु होइन, मैले भोगेको पीडा बाहिर ल्याउँदा कोभिड भएका वा हुनसक्ने दुई चार जनालाई केही लाभ हुनसक्छ, यससम्बन्धी अनुसन्धान गरिरहेका विशेषज्ञहरुले केही डेटा प्राप्त हुनसक्छ भनेर हो ।

१) कोभिड रोगलाई मैले निकै हलुका रुपमा लिएको थिएँ । योग, ध्यान र आयुर्वेदिक औषधिमा रुचि भएका कारण यो रोगले मलाई छुन सक्दैन भन्ने भ्रम थियो । रोग लागिहालेछ भने पनि पचाउँछु भन्ने आशा थियो । आमा ६५ वर्षभन्दा माथि हुनु भएकाले उहाँलाई सचेत हुने आग्रह गर्थे तर आमा पनि म जस्तै आफूलाई सुरपपावर ठान्नुहुन्थ्यो । यही गल्तीले हामी दुबै यसबाट संक्रमित भयौँ, जसका कारण एक महिनाभन्दा बढी अर्थात आजपर्यन्त दुःख पाइरहेका छौँ । आमा मभन्दा उमेरले पाको र योग ध्यान नगर्ने भए पनि उहाँलाई कोभिडले मलाई भन्दा कम च्यापेको हो कि भन्ने देखिन्थ्यो । यद्यपि उहाँ पनि आजसम्म ओछ्यानमै हुनुहुन्छ ।

२) ६ महिनाअघि नेपाल आएको पहिलो खोप स्वास्थकर्मी, पत्रकार र अत्यावश्य व्यक्तिलाई उपलब्ध गराउने योजना सरकारले सार्वजनिक गरेको थियो । भारतले सित्तैमा दिएको १० लाख डोज खोप, त्यो पत्रकारलाई किन ? के पत्रकार अत्यावश्यक उमेरमा पुगेका आमा बुबाभन्दा माथि हुन् ? मनमा यो प्रश्न बारम्बार आएपछि सुविधामा पाएको त्यो खोप मैले नलगाउने निर्णय गरेको थिएँ । मेरो मुर्खतामा भाइ (अच्युत कोइराला) हाँसेको थियो ।

खोप लगाउने दिन उसलाई मोटरसाइलमा राखेर मीनभवनस्थित निजामति सेवा अस्पताल (सरल भाषामा नागरिक अस्पताल भन्छन् क्यारे) पु¥याएको थिएँ । त्यहाँ पुगेपछि उसले लाइनमा बस भनेर धेरै पटक कर ग¥यो, मैले टेरिन । त्यहाँ नाम चलेका पत्रिका र चिनिएका पत्रकारहरु नदेख्दा मन खिन्न भयो ।

खासमा त्यो बेला मैले अनुभव गरेँ, पत्रकारको नाममा गैरपत्रकाहरुले धेरै खोप लगाइरहेका थिए । मलाई झन् बहिष्कार गर्न मन लाग्यो । भाइले खोप लगाउन्जेल पर्खेर बसेँ र खोप लगाएपछि उसलाई लिएर घर फर्किएँ । उसले तँ पस्ताउने छस् भन्दै थियो । मैले उसको कुरालाई हावामा उडाएँ । आज उ पनि आमा र म जस्तै कोभिड संक्रमित छ तर उसलाई केही भएको छैन । खोप लगाएकै कारण उसले हाम्रो सेवा राम्रोसँग गर्न सक्षम भएको छ । आदर्शवादी हुन खोज्दा र मलाई केही हुन्न भन्ने आत्मविश्वासले पनि झण्डै मृत्युको मुखमा पुगेँ ।

३) यो रोग पीडादायी मात्र होइन, निमोर्ही पनि रहेछ । मभन्दा २२ वर्ष बढी उमेरकी मेरी आमालाई भन्दा योग ध्यान गर्ने भनेर चिनिएको मलाई बेस्सरी यसले दुःख दियो । यो एक महिनाको अवधिमा म पूर्णरुपमा बृद्ध जस्तो देखिएँ । सामान्यरुमपा सेता हुन थालेका रौँहरु अब पूर्णरुपमा बृद्ध जस्तै फूलेका छन् । कपाल मात्र होइन, दारी, छातीका रौँ र आँखी भौँका रौँहरु पनि सेता हुँदै गएका छन् । (कसैले अनुसन्धान वा कोभिड प्रभाव कस्तो हुन्छ भनेर हेर्ने इच्छा गर्नु भएमा कमेन्टमा ताजा तस्बिर राख्नेछु ।) रौँहरु फूलेसँगै बृद्ध जस्तो अति कमजोर महसुस गरिरहेको छु र गनगने भएको छु ।

सानो सानो कुरामा रिस उठ्छ । अरुले गरेको काम चित्त बुझ्दैन । आफैँ गर्न मन लाग्छ । तर कमजोरीले ती काम गर्न सक्तिन र रिसाउँछु । स्पष्ट भाषमा भन्दा यो भरि जवानीमा बृद्ध अवस्थाको मज्जा लिन थालेको छु ।
चिकित्सकहरु अब चाँडै म पुरानो अवस्थामा फर्कने आश्वसन दिएका छन् । तर मेरा रौँहरु काला हुन्छन् ? बृद्ध अवस्थाका लक्षण हराएर पुनः जवानीको लक्षणमा फर्कन्छु ? मलाई विश्वास लागेको छैन । फर्किएँ भने चमत्कार हुनेछ ।

चाँडै बृद्ध हुन मन छ भने म जस्तै आर्दशवादी भएर खोप नलगाउनु होला । म त नेपाली हुँ । म त योग ध्यान गर्ने व्यक्ति हुँ । मेरो त इम्युनिटी पावर विशेष छ भन्ने सोच छ भने पनि खोप नलगाउनु होला । होइन, जीवनलाई माया गर्नु छ भने सरकारलाई बढी भन्दा भन्दा बढी दबाब दिएर खोप ल्याउने र लगाउने व्यवस्थाका लागि आन्दोलन गर्नुहोला । समाजिक सञ्जालमा हाम्रो जीवनलाई धेरै असर नगर्ने राजनीति र अन्य कुराहरुको बहस भइरहेको छ तर खोपको महत्वबारे खासै बहस भएको देखेको छैन ।

जीवन नै नरहे के को बहस ? जवानी नै नरहे के को जोश ? ओच्छ्यानमा परेपछि मान्छे धेरै अर्तिबुद्धि दिने हुन्छ भन्थे, त्यस्तै भएँ क्यारे । माफी चाहन्छु ।

कोइरालाको फेसबुकबाट साभार गरिएको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने