

काठमाडौं,
खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) ले कोरोनाका कारण निषेधाज्ञा जारी भएका बेला पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिइरहेको छ । फाउन्डेसनको व्यवस्थापनमा सामुदायिक जनजागृति आधारभूत विद्यालय सुचारू छ । नियमित शिक्षा र सीपमुलक ज्ञान निरन्तर बाँडिरहेको शुभमले महामारीको बीचमा जारी भएको निषेधाज्ञाको समयमा झनै प्रभावकारी कार्यसञ्चालन गरिरहेको छ ।
पत्यार नलाग्न सक्छ तर कोरोना कालअघि जस्तै यहाँ दैनिक काम भइरहेको छ । यहाँको विद्यालय बन्द पनि भएको छैन । लकडाउनले अझ विद्यार्थीहरुलाई थप सीपयुक्त र व्यवहारीक बनाएको छ । कोभिडको महामारीमा पनि यहाँको पठनपाठन र सीपमुलक गतिविधि चालू छन् ।
संस्थापक मदन राई भन्नुहुन्छ, ‘शुभमका बिध्धार्थीले ४ क प्रयोग गर्छन् । कोदालो (साङकेतिक) ले उत्पादन गर्छन, क्यामेराले उत्पादन खिच्छन, कम्पुटरले अरुलाइ सेयर गर्छन र कलमले डायरीमा के उब्ज्यो अभिलेख राख्छन् ।’ यहाँ पुर्वी नेपालदेखि पश्चिमसम्मका बालबालिका आफ्नो सुनौलो भविष्यलाई तिखारिहरेका हुन्छन् । यस फाउन्डेसनमा सबै जातजातिहरु एउटै परिवार जस्तो मिलेर बसेको पाइन्छ । आजको समयमा करिब २ सय बालिकालाई आफ्नो जीवनमा जिविका चलाउनु पर्ने आवश्यकता कुराहरु सबै सिकाउनु भनेको चानचुने कुरो होइन ।
माटोदेखि कम्पुटर, घाँस काटन, सुँगुरलाई चारोदेखि नाचगान, कृषिदेखि खेलकुदसम्म यस फाउन्डेसनका बालबालिका एसईई परीक्षा दिने वेलासम्ममा हरेक विद्यार्थीले एक सय वटा जीवनोपयोगी सीप सिकिसकेका हुन्छन् । विद्यार्थीहरुले माध्यमिक तहको परीक्षा सरस्वती मावि दिक्तेलबाट दिन्छन् । क्याम्पस तहकाले दिक्तेल बहुमुखी क्याम्पसबाट परीक्षा दिन्छन् ।
यस्ता सीप सिक्ने विद्यार्थी स्वदेशमै स्वरोजगार बन्न सक्ने पनि संस्थापक मदन राईको भनाइ छ । यसरी सिक्दै पढ्ने गरेका विद्यार्थीमध्ये गत वर्षको एसईई परीक्षामा सारा राई जिल्लामै प्रथम हुनु भएको थियो ।
तस्वीरहरुः शुभद्रा मदन फाउन्डेसन (शुभम)













