काठमाडौं,
नेपालमा कोभिड १९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा नौ वटा नमुनामा डेल्टा भेरियन्टको नयाँ रुप फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के ४१७ एन म्युटेसन देखिएको बताउनुभयो । यसलाई एवाई.१ नाम दिइएको छ । यस किसिमको उत्परिवर्तन रुप नेपालसहित विभिन्न १० देशमा देखिएको सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।
मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो । नेपालमा अहिलेसम्म अल्फा बी.१.१.७ र डेल्टा बी.१.६१७.२ तथा कप्पा बी.१.६१७.१ भेरियन्ट पुष्टि भएको छ ।
डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको उहाँको भनाइ छ । ‘यो नयाँ देखिएको भेरियन्ट होइन,’ उहाँले भन्नुभयो, ‘यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।’
मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको संक्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि पनि अपिल गरेको छ ।