काठमाडौं,
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा मंगलबारबाट खुकुलो हुने भएको छ । जारी निषेधाज्ञा एक साता अर्थात असार १४ गतेसम्म थपेर केही प्रावधानहरु खुकुलो बनाइएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।
‘जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने र संक्रमण दर पनि घट्दै गएकाले यो निर्णय गरिएको हो’ प्रमुख जिल्ला अधिकारी पराजुली भन्नुहुन्छ, ‘यसको अर्थ जोखिम सकिएको भन्ने चाहिँ होइन, नागरिक आफैंले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’ जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् ।
त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् । बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।
हेर्नुहोस् निषेधाज्ञाको सूचनाः