काठमाडौं,
नेपालमा कोरोना संक्रमितको सँख्या तीन लाख नाघेको छ । पछिल्लो पटक एकैदिन तीन हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार एक सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ ।
विभिन्न जिल्ला गरी १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । तर सोही अवधिमा थप १२ जना मृतकको विवरणसमेत प्राप्त भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।
९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ र ७ सय ८६ को एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार एक सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमतिको संख्या ३ लाख एक सय १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ५० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३ सय ८२ पुगेको छ । जसमध्ये १७ हजार ७ सय ८८ जना होम आइसोलेसनमा र एक हजार ५ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आइतबारसम्म २ सय ५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका ६२ जना र १० देखि १९ वर्षसम्मका २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कहाँ कति थपिए संक्रमितः
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा एक हजार एक सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी एक हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बाँकेमा ३ सय ५३, रुपन्देहीमा २ सय ९, सुर्खेतमा एक सय १८, मोरङमा १एक सय १० र कास्कीमा एक सय ५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, बाँके, कास्की, रूपन्देही र सुर्खेतमा सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।