

काठमाडौं,
२०७२ साल बैशाख १२ गतेको भूकम्पले भत्किएको धरहराको निर्माण सकिएपछि शनिबार उद्घाटन गरिएको छ । नवनिर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेर धरहराको उद्घाटन गर्नुभएको हो । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पपृष्टि गर्नुभएको थियो ।
धरहरा निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गर्नुभएको थियो । २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको नवनिर्मित धरहराको प्रधानमन्त्री ओलीबाट नै उद्घाटन भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा नवनिर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२ औं तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंग राखिएको छ । ९० सालको भूकम्पले क्षति पुऱ्याएपछि ११ तले धरहरा ९ तलामा सिमिति भएको थियो ।
त्यसपछि ९ तलामा नै सिमिति राखेर पुनर्निर्माण गरिएको थियो । तर अहिलेको धरहरा बाहिरबाट देखिँदा ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिनमुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्रामस्थल सहितको बगैंचाको हुनेछ भने संक्षिप्त ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ ।







