

काठमाडौं,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ । जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई सबै जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिक संस्थाहरुमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।



