

काठमाडौं,
कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले कोरिया अध्ययनमा रहेको समस्या फुकाउन शिक्षा मन्त्रीसमक्ष अनुरोध गरेको छ । कोरियामा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीहरुको लागि शैक्षिक परामर्श प्रदान गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुको छाता संस्था कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटी कोरिया अध्ययनमा गएका र जानको लागि शुल्कहरु बुझाई सकेका नेपाली विद्यार्थीहरुको समस्या फुकाउन अनुरोध गरेको छ ।
संघका अध्यक्ष गणेश शर्माको नेतृत्वमा गएको संघको एक प्रतिनिधि मण्डलले मन्त्री श्रेष्ठलाई शिक्षा मन्त्रालयमा भेटी ज्ञापन पत्र बुझाएको हो । नेपाली विद्यार्थीहरुले लामो समयदेखि कोरियाका विभिन्न कलेज र विश्वविद्यालयहरुमा अध्ययनको लागि शुल्क बुझाएको र उनीहरुले आफ्नो पढाई कोरियामा नै गएर निरन्तरता गर्नका लागि कोरियाली दुतावासले भिसा आबेदन बन्द गरेका कारण कठिनाई भएको छ ।
कोरोना त्रासका कारण नेपालमा बन्द भएको दुतावास भारत, बंगलादेशमा भने सुचारु रहेको र भिसा आबेदन खुल्ला रहेको जनाइएको छ । संघका अनुसार हाल करिव १५०० विद्यार्थी कोरिया अध्ययनको लागि शुल्क बुझाएर कुरेर बसेका छन् ।
कोरिया अध्ययनमा गई सकेका विद्यार्थीहरुले समेत त्यहाँको स्थानीय कानुन अनुसार काम गर्नका लागि तोकिएको सर्तहरु पुरा गर्न नसक्दा बेला बखत समस्यामा परेका समाचारहरु आउने गरेका छन् । अध्ययन र रोजगारीको लागि उत्कृष्ट गन्तब्य मुलुकको रुपमा रहेको कोरियामा नेपाली विद्यार्थीहरुको लागि वातावरण बनाउन नेपाल सरकारले पहल गर्न सक्ने यथेष्ठ ठाउँ रहेको संघको धारणा छ ।
तर सरकारले त्यस्ता विषयमा कानमा तेल हालेर घरेलु राजनीतिमा मात्र उफ्रि उफ्रि तागत देखाएर समस्या समाधान नहुने संघका एक प्रतिनिधिले बताए । तत्काल मुलुक भित्र रोजगारी र शिक्षाको उचित प्रबन्ध हुन नसक्दा रोजगारी गर्दै स्व आर्जनबाट अध्ययन समेत गर्न सक्ने मुलुकहरुको खोजीमा नेपाली युवा विद्यार्थीहरु ब्यस्त देखिन्छन् ।
यस्तो अवस्थामा सरकारले उचित कदम चाल्न नसकेमा फेरी युवा विद्यार्थीहरुको समस्या बर्षौ सम्म ज्यूका त्यूँ हुनेमा दुईमत छैन् । संघका अध्यक्ष शर्माले जोड दिंदै भने, सरकारले समयमा नै समस्याहरुको समाधानमा पहल गरोस । केक्यानले दक्षिण कोरियाली दुतावासमा समेत भेटेर समस्या समाधानमा पहल गर्न अनुरोध गर्ने जनाएको छ ।


