

काठकाडौं,
नेपालमा पहिलो चरणमा कोरोना भाइरस विरूद्धको खोप चार लाखमध्ये कसैलाई पनि स्वास्थ्यमा गम्भीर समस्या नभएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौंमा मन्त्रालयले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले भन्नुभयो, ‘अहिलेसम्म चार लाख बढीले खोप लगाइसके । त्यसमध्ये ९ जनालाई अलि बढी ज्वरो आयो । तर अहिले सबै सञ्चो भइसक्नु भएको छ ।’
पहिलो चरणमा स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख बढीलाई खोप दिने सरकारले लक्ष्य राखेको थियो । लक्षित समूहका ८५ प्रतिशतले खोप लगाउनु भएको बताउँदै उहाँले यो खोप सुरक्षित देखिएकाले सबै ढुक्क भएर लगाउन पनि अनुरोध गर्नुभएको छ ।
फागुन २३ गते देखि दोस्रो चरणको खोप कार्यक्रम अघि बढने पनि उप्रेतीले जानकारी दिनुभयो । दोस्रो चरणमा ५५ वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोग लागेका ४५-५४ वर्ष समूहका मानिसलाई खोप लगाउने सरकारले तयारी गरेको छ । यो समूहमा ५१ लाख बढी जनसंख्या रहेको मन्त्रालयले अनुमान गरेको छ ।
५१ लाख मानिसलाई दुई डोज खोप दिन खेर जान सक्ने खोपसमेत हिसाब गर्दा सवा करोड खोप चाहिने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ । दोस्रो चरणको खोप पूरा हुँदा नेपालको कुल जनसंख्याको २० प्रतिशतले खोप पाइसक्ने जानकारी स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताउनुभयो ।
१५ वर्षमाथिका मानिसलाई मात्र खोप लगाउने तयारी सरकारको छ । त्यो उमेर समूहभन्दा तल खोपको परीक्षण भएको छैन । जम्मा २ करोड १७ लाख मानिसलाई खोप लगाउने मन्त्रालयको लक्ष्य छ । असार दोस्रो हप्तासम्म दोस्रो चरणका दुबै डोज खोप लगाइसक्ने योजना रहेको उहाँको भनाइ छ ।
मन्त्रालयले भारत सरकारबाट अनुदानमा प्राप्त भएको १० लाख खोप आयात गरिसकेको छ । अर्को २० लाख डोज खोपका लागि पैसा पठाएर त्यसमध्ये १० लाख डोज पनि ल्याइसककेको छ । अब पचास लाख डोज खोप किन्न भारतको सेरम इन्स्टिच्युटसँग वार्ता भैरहेको पनि सचिव अर्यालले जानकारी दिनुभयो । कोभ्याक्समार्फत् नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप युनिसेफबाट अनुदानमा पाउने पनि उहाँले बताउनुभयो ।

