२०८३ बैशाख १८, शुक्रबार
 

संसद पुनस्थापना भएपछि कसले के भने ?

prabhu bank home loan

काठमाडौं,

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहनुभएका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालले एकअर्कालाई मिठाई खुवाएर खुसी साटासाट गर्नुभएको थियो । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता भए तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ ।

प्रचण्डले सांसदहरूलाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभएको छ । ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन आग्रह गर्दै उहाँले आफूहरू स्वागतका लागि तयार रहेको पनि बताउनुभयो ।

लोकतन्त्र सर्वोच्चले बचायोः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताउनुभएको छ । उपचारका लागि भारतको दिल्लीमा रहनुभएका भट्टराईले अदालतको फैसला सुन्दा रोगै हराएजस्तो भएको प्रतिक्रिया दिनुभयो ।

‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेख्नुभएको छ, ‘हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबुर सुन्दा रोगै हराए झै भयो ।’

नेपाली कांग्रेसद्धारा सर्वोच्चको फैसलाको स्वागत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुभएको छ । देउवाले मँगलबार प्रेस विज्ञिप्त जारी गर्दै भन्नुभएको छ, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’

देउवाले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण गराउनु भएको छ ।

अदालतप्रति जनताको विश्वास बढ्योः सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो ।

‘सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनताको जित भएको छ । संविधानवादको जित भएको छ र नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ,’ उहाँले भने, ‘समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ । साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।’

फैसला अनपेक्षित, तर स्वीकारछौंः प्रवक्ता ज्ञवाली

परराष्ट्रमन्त्री एवं नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको प्रतिक्रिया दिनुभएको छ । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीको भनाइ छ ।

‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उहाँले भन्नुभयो, जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहन्छ ।

गैरकानुनी काम गर्ने मनोवृत्तिलाई पाठ दियोः महतो

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले न्यायालयप्रति आमनागरिकको भरोसा थप बढेर गएको बताउनु भएको छ । सर्वोच्चको आदेश स्वागतयोग्य भएको र यसले संवैधानिक सर्वोच्चता कायम भएको र गैरकानुनी काम गर्ने मनोवृत्तिलाई पाठ दिएको उहाँको भनाइ छ ।

महतोद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्चको आजको फैसलाले न्यायालयप्रति आमनागरिक भरोसा थप बढेर गएको छ भने गैरकानुनी काम गर्ने मनोवृत्तिलाई पाठ दिएको छ । सर्वोच्चको यस स्वागतयोग्य संवैधानिक सर्वोच्चता कायम भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने