२०८३ बैशाख ८, मङ्लबार
 

काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन, कसले के भने ?

prabhu bank home loan

काठमाडौं,

संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु उत्साहित बनेका छन् । प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गर्नुभएको छ । उहाँहरुले केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको प्रतिक्रिया दिनुभएको छ ।

जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्: प्रचण्ड

अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको बताउनुभयो । ‘हामीले तीन वर्षमा पनि केपीलाई तह लगाउन सकेनौँ,’ उहाँले भन्नुभयो, ‘उहाँका केही कुरा मानिदिएर पार्टी पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हो तर केपीका गलत प्रवृत्तिविरुद्ध कडा तरिकाले संघर्ष गर्न सक्नुपर्थ्यो, हामीले गर्न सकेनौँ, यसमा म तपाईंहरुसामु आत्मालोचना गर्छु ।’

प्रचण्डले ओली प्रवृतिको चर्को विरोध गर्दै ओलीमा पनि राजा महाराजा प्रवृति देखिएकाले त्यस्तो प्रवृतिलाई जनताले परास्त गरेरै छोड्ने विश्वास व्यक्त गर्नुभयो । ‘नेपाली जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्, राजा महाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ,’ प्रचण्डको भनाइ छ ।

ओलीको विरुद्धमा सिंगो देश उभिएको छ: नेपाल

अर्का अध्यक्ष माधवकुमार नेपालले फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले आशंका गरेपनि त्यो सम्भावना नरहेको बताउनु भएको छ । सिंगो देश ओलीका विरुद्ध रहेको भन्दै नेपालले ओलीसँग अरिङ्गाल र साइबर सेना मात्रै रहेको दावी गर्नुभयो ।

‘ओलीको विरुद्धमा सिंगो देश उभिएको छ । ओलीको पक्षमा साइवर सेना र अरिंगालमात्रै छन् । हाम्रो विशाल पार्टीसँग ओलीका अरिंगाल र साइबर सेनाले लड्ने क्षमता राख्दैनन्’ अध्यक्ष नेपालको भनाइ छ । नेता नेपालले ओलीसँग मिल्छन् कि भन्ने आंशकाको पनि खण्डन गर्दै भन्नुभएको छ ‘अहिले कतिपय पार्टीले शंका गरेका छन् । यो कुनै नाटक गरेका त छैनन् ? कतै मिल्ने त हैनन् ? कतै हामीलाई धोका त दिने हैनन् ? हामी मूल्यको राजनीति गर्छौँ । हामी विचारको राजनीति गर्छौँ ।’

अध्यक्ष नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताउनु भएको छ । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताउनुभयो । अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको उहाँको भनाइ छ ।

जनता कोसँग छन् भन्ने हेर्न सडकमा आउनु: खनाल

वरिष्ठ नेता झलनाथ खनालले आधिकारिक नेकपा प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टी नै भएको भन्दै त्यसका लागि जनता कोसँग छन् भन्ने हेर्न सडकमा आउन निम्ता दिनुभएको थियो । ‘म केपी ओलीलाई कुन पार्टी आधिकारिक हो भन्ने कुरा सडकमा आएर हेर्न निम्ता गर्न चाहन्छु’, नेता खनालले भन्नुभयो । ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने भन्दै खनालले ओलीलाई कम्युनिस्ट आन्दोलनका घातका तत्व भएको टिप्पणी गर्नुभएको छ ।

ओलीको सेटिङले देश नचल्ने: भुषाल

सभामा सम्बोधनको सुरुवात गर्दै नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताउनु भएको छ । ‘ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइनेछैन । सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ’,भुषालले भन्नुभयो, ‘२१औं शताब्दीमा सेटिङमा अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ भोलि पराजित हुनुहुनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने