

सर्लाही,
सरकार र उखु किसानबीच भएको सम्झौता अनुसार बक्यौता रकम भुक्तानी नभएपछि उखु किसान संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमको विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा भनिएको छ ।
आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान सञ्चालन गर्ने र फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।
त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


