

विराटनगर,
प्रदेश नं १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की ज्यूको प्रमुख आतिथ्यमा मोरङ्गको विराटनगरमा वन डढेलो तथा आगलागीको जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार भएको अन्तरक्रियाका सहभागीले विगतमा विपद्पछिको उद्धार र राहतमा मात्र काम भएको भन्दै विपद्को जोखिम घटाउने हो भने विपद्पूर्वको तयारीमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
अधिकांश आगलागी मानवीय लापरबाहीका कारण भएको भन्दै आगलागीको जोखिम न्यूनीकरणका लागि हाम्रै बानी व्यहोरा सुधार्नुपर्ने सहभागीहरुको सुझाव रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । विज्ञहरुका अनुसार हरेक वर्ष आगलागीको चपेटामा परी औसतमा १० जनाको मृत्यु हुने गरेको छ भने वनजँगल आसपासका २ सय घर जलेर नष्ट हुने गरेका छन् ।
त्यस्तै विगतका तथ्याङ्कहरु हेर्दा औसतमा वार्षिक २ लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको समन्वयमा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको पधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
तस्वीरः प्राधिकरणको फेसबुक पेजबाट ।



