

जुम्ला,
२३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाली सेनाले घर आगलागी भएपछिको उद्धारको बिषयमा नमुना घटना अभ्यास (डेमो) प्रदर्शन गरेको छ । नन्दाबक्स गणको बिपत विशेष टोलीले घर आगलागीपछि उद्धार तथा स्वास्थ्यचौकीसम्म पुरयाउने बिषयमा भिडियो देखाएको थियो ।
दिवसको अवसरमा जुम्लामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सवै नागरिक र राष्ट्रसेवक कर्मचारीहरुको बीमा सुरक्षित गरिएको बताउनु भएको छ । कर्णालीका कोही पनि नागरिक विपतबाट मृत्यू भएमा रु. दुई लाख रकम दिने बीमा प्याकेज प्रभावकारी र नमूना भएको जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत बिपतमा मृत्यू भएमा रु. दुई लाखका दरले रकम उपलब्ध गराउने कार्य कार्यान्वयन भएको उहाँको भनाइ छ ।
बिपतका कारण घर भत्केमा रु. एक लाखः
कर्णाली प्रदेशमा बिपतमा घर भत्केमा रु. एक लाख रुपैया पाउने व्यवस्था गरिएको र १ हजार ३ सय घरलाई रु. एक लाख रकम दिने निर्णय गरिएको मन्त्री भण्डारीले बताउनुभयो ।
मन्त्री भण्डारीले सुर्खेतमा बाढीका कारण घर गुमाएका र अलपत्र परेका एक हजार ४५ घर मध्ये छ सय १४ जना नागरिकको कर्णाली सरकारले घर निर्माण गरेको जानकारी दिनुभयो । कालिकोटका पलाता लगायतका क्षेत्रमा आगलागी हुदा क्षेति भएका घर बनाईएको उहाँको भनाइ छ । मन्त्री भण्डारीले दिवसको अवसरमा पूर्वतयारी, प्रतिकार्य र पुनस्थापना तिनै कुरामा जोड दिन आवश्यक रहेको बताउँदै भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिन निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रदेश सभाका सांसद पदम रोकायाले अहिलेको विकास गर्दा विनासलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले डोजरले प्रकृतिलाई नास गर्दै आएको भन्दै होशियार हुन आवश्यक रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भुकम्प सुरक्षाका लागि दिर्घकालीन कामको योजना स्थानीय सरकारसम्म पुरयाउन आवश्यक रहेको बताउनु भएको छ ।
तस्वीरः मन्त्री नरेश भण्डारीको फेसबुक पेजबाट ।






