

काठमाडौं,
नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनीहरुले खुद नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने अवस्था रहेको र यसका लागि धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुको सहभागिता आवश्यक देखिएको जनाउँदै बोर्डले सामाजिक उत्तरदायित्वका लागि रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा यस्तो रकम खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप वितरण हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले पहिलेदेखि नैं यस्तो कोषमा रकम छुट्याउँदै आएकोमा शेयर ब्रोकर कम्पनीलाई समेत यो व्यवस्था लागू गरिएको हो ।
ब्रोकर कम्पनीले लगानीकर्ताबाट कारोबार रकमका आधारमा ०.२७ देखि ०.४ प्रतिशतसम्म कमिसन लिँदै आएका छन् । हाल ५० ब्रोकर कम्पनीमार्फत दैनिक ५ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार हुने गरेको छ ।
कतिपय ब्रोकर कम्पनीको वार्षिक नाफा नै १ करोडभन्दा धेरै हुने गरेको छ । ब्रोकरका अलवा अब केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था तथा धितोपत्र व्यापारीहरुले खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न छुट्याउनुपर्नेछ ।
यसले धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि हुन गई बजार विकास र विस्तारमा समेत सहयोग पुग्ने बोर्डको भनाइ छ ।

