

काठमाडौं,
बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई आपतकालीन झोला वितरण सुरु गरेको छ ।
विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ धादिङ र दोलखा शाखालाई दुई वटाका दरले आपतकालीन झोला हस्तान्तरण गरेको छ । झोलामा ल्यापटप, पावर बैंक, माइक्रोफोन, टर्च लाइट र मोबाइल ट्राइपोड रहेका प्रेस रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो ।
विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न चाहने पत्रकारले नेपाल पत्रकार महासंघबाट यो आपतकालीन झोला लिन पाउने उहाँको भनाइ छ । बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका पत्रकार महासंघ जिल्ला शाखालाई दुई वटाका दरले आपतकालीन झोला वितरण गर्ने लक्ष्य रहेको सापकोटाले बताउनुभयो ।


