

गोरखा,
पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले गोरखा दरबारबाट गोरखा–काठमाण्डौं एकीकरण मार्ग पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट सुरु भएको यात्रा धादिङ–नुवाकोट–काठमाडौंको पैदलमार्ग हुँदै हनुमानढोका पुगेर टुंगिने छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको पदमार्ग पछ्याउँदै नेपाली सेनाले पदयात्रा गर्नेछ । पुष २६ गते काठमाडौंको हनुमानढोका दरबारमा पुग्ने गरी पदयात्राको कार्यक्रम तय गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपालको राष्ट्रिय झण्डा, टर्च, नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज) को झण्डासहित टोलीले पदयात्रा सुरु गरेको हो । सेनाका यी पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।
हनुमान भञ्याङबाट यात्रा सुरु गरेको रणसिंह दल गणले ताप्ले–अश्राङ– बोर्लाङसम्मको पहिलो खण्डको यात्रा मंगलबार साँझसम्ममा पुरा गरिसकेको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले जानकारी दिनुभयो । रणसिंह दलले धादिङको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गरेको र धादिङ खण्डको यात्रा पूरा पछि नुवाकोटको जबरजंग गणले झण्डा र टर्च काठमाडौंसम्म पुर्याउने जिम्मा पाउने उहाँले जानकारी दिनुभयो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले ऐतिहासिक पदमार्गको संरक्षण गर्दै पदमार्ग विकासका लागि तीन तहकै सरकारहरू संयुक्त रूपमा समन्वय गरेर अघि बढ्नुपर्ने बताउनु भएको थियो ।



