

सिन्धुपाल्चोक,
मेलम्ची नगरपालिका वडा नम्बर ९ ज्यामिरेस्थित गुफाडाँडामा आज दोस्रो राष्ट्रिय जलवायु दिवस मनाइँदैछ । दिवसको अवसरमा अवसरमा राष्ट्रिय जलवायु सम्मेलन गरेको स्थान गुफाडाँडामा अन्तरक्रिया सहितको विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ७७ वटा जिल्ला समन्वय समितिका प्रमुख वा प्रतिनिधि, जिल्लाका विषयगत कार्यालयका प्रमुख वा प्रतिनिधिहरू, १२ वटै स्थानीय तहका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायको उपस्थिति रहने छ ।
राष्ट्रिय जलवायु सम्मेलन मनाउनका लागि सबै तयारी पुरा भएको तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा विगतका वर्षहरू जस्तै यस बर्ष पनि दोस्रो जलवायु दिवस तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको समन्वय समितिले जनाएको छ ।
यो बर्ष ७८ वटा झण्डात्तोलन गर्ने जलवायु परिवर्तन एवं कोभिड १९ सम्बन्धी सन्देशमुलक ब्यानर प्रदर्शन, जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया गर्ने प्रमुख तामाङले जानकारी दिनुभयो ।
गत वर्षहरूमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम यो बर्ष कोभिड १९ का कारण सामान्य मात्रै गर्ने तयारी रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुफा डाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।


