

काठमाडौं,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीको प्रश्ताव गर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीमाथिको अनुशासनको कारबाहीको प्रश्तावमाथि छलफल गरी केन्द्रीय समितिले निर्णय गर्नेछ ।
केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार गरेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय लिइएको हो । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ । आजको बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए।
बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ।

