२०८३ बैशाख १८, शुक्रबार
 

कान्छी, भट्टी र देश

prabhu bank home loan

कृष्ण सेन ‘इच्छुक’

अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र, अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौँ, प्रकृतिको सुन्दर पसल हो, नेपाल
सजाएर चियाको किट्लीजस्तै
भकभकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरूमा पस्केर
सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ

यात्रीहरू आइरहेछन् र गइरहेछन्
परदेशीहरू गइरहेछन् र आइरहेछन्
कोही उसको रूपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छटपटीको तातो भुंग्रोभित्र
खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ

भट्टीमा भात पाकिरहेछ
भात सँगसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासु सँगसँगै कान्छीको आँशु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ
नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ
विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ
गहबाट बहका नदीहरू झारिरहिछ
कान्छी भट्टी थापिरहिछ।

उसका आँशुहरू
मानौँ, खुशी खोसिएका कोशीका अशान्त छालहरू हुन्
उसका रहरहरू
मानौँ, बन्धकी परेका गण्डकीका बेचैन लहरहरू हुन्
र ऊ, मानौँ, गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो
जो आफूदेखि धेरै टाढा
सुदूर छाउनी र पराईका मोर्चाहरूमा बेखबर
प्रिय पति र मायालु बन्धुहरूलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ ।

(गणतन्त्र र संविधानसभाको पक्षमा आवाज बुलन्द गर्दा प्रहरीले प्रकाउ गरि हिरासतमा नै हत्या गरिएका कृष्ण सेन ‘इच्छुक’ को १८ औँ स्मृति दिवसको अवसरका सम्मान स्वरुप प्रकासित)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने