

काठमाडौं,
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी ३० वटै रिटको सुनुवाई अब संवैधानिक इजलासबाट गर्ने भएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी १९ वटा मुद्दालाई पनि संवैधानिक इजलासमा पठाउने आदेश दिनु भएको हो ।
बिहीबार १९ वटा रिटमाथिको सुनुवाइ सकिएपछि जबराले भन्नुभयो, ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ बहस गर्ने हो ।’ संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।
राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका एक सय ४६ सांसदले बहुमत सांसदले हस्ताक्षर गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

