
एजेन्सी,
सेनाले सत्ता हत्याएको विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सेनाले दमन बढाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार बुधबारमात्रै सेना र प्रहरीले चलाएको गोली लागेर कम्तिमा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले बुधबारलाई रक्तपातपूर्ण बुधबारको संज्ञा दिएको छ ।
फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि भएका प्रदर्शनमा एकैदिन यति धेरै मानिस मारिएको यो पहिलो पटक हो । मृत्यु हुनेमा ४ जना बालबालिकासमेत रहेको जनाइएको छ । म्यानमारका छिमेकी देशहरूले जुन्ता सरकारलाई संयमता अपनाउन आग्रह गरेकै अर्को दिन सुरक्षाकर्मीले देशका विभिन्न सहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बुधबारको प्रदर्शनमा सहभागी भएकाहरूमध्ये सयौंलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । ‘फेब्रअरी १ मा सेनाले सत्ता लिएपछि बुधबार सबैभन्दा रक्तपातपूर्ण दिन भयो । आजमात्र ३८ मानिसले ज्यान गुमाए । कू पछि अहिलेसम्म ५० बढी मानिस मारिएका छन् र कैयौं घाइते भएका छन्,’ म्यानमारका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि क्रिस्टिन स्च्रानर बर्जनरले भन्नुभयो ।
म्यानमारभरी नै सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले नेता आङ सान सूची लगायतका नेताहरुको रिहाइको माग गरिरहेका छन् ।


