

सिन्धुपाल्चोक,
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिन्धुपाल्चोक जिल्लालाई अब दुग्ध जोन बनाइने भएको छ । परियोजना सञ्चालन समन्वय समितिको बुधवारको बैठकले किसानले प्रत्यक्ष र नियमित आम्दानी गर्ने दूध व्यवसायलाई प्रवर्द्धन गर्न दुग्ध जोन बनाउने निर्णय गरेको हो ।
हाल जिल्लाबाट वार्षिक ९८ करोड रुपैयाँ बराबरको दूध निर्यात हुने आंकलन गरिएको छ । यस अघि सिन्धुपाल्चोक जिल्लालाई मकै पकेट क्षेत्र घोषणा गरी मकै जोनको रूपमा विकास गरिएको थियो । बैठकले जिल्लामा सञ्चालित मकै जोनलाई सुपर जोनमा स्तरोन्नति गर्दै दुग्ध पकेट क्षेत्र निर्धारण गरी दुग्ध जोन स्थापना गर्ने निर्णय गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।
बैठकले दुग्ध जोनसँगै अन्य ५ बालीको समेत प्राथामिकिकरण गरेको छ सोही अनुसार जोन घोषणा गरी प्राविधिक कार्यविधि बनाइ कार्यक्रम तय गर्न समितिले माथिल्लो तहमा सिफारिस गरेको उहाँको भनाइ छ । दूध, आलु, कफी, माछा, मासु गरी प्राथामिकिकरण गरिएको इकाई प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।
मकै पकेट क्षेत्रको रूपमा परिचित जिल्लालाई तत्काल गाई भैसी, आलु सँगै क्रमशः छ वटा क्षेत्रमा काम गर्ने केन्द्रीय नीति रहेको परियोजना कार्यान्वयन इकाईले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा बसेको बैठकमा मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्याल, मकै जोन सञ्चालन समन्वय समितिका संयोजक जीवन थापा, कृषि ज्ञान केन्द्र काभ्रेका थर्क बहादुर जि.सि, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ का अध्यक्ष चुडामणि नेपाल, बाह्रबिसे नगरपालिका वडा नं. २ का वडाध्यक्ष बमबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

