

बेलायत,
नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको उपविजेता बन्नुभएको छ । बेलायतका २५ वर्षीय सेफ एलेक्स वेबले यो वर्षको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ को उपाधि जित्नु भएको छ । ‘बीबीसी वन’ मा विहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा सन्तोष ‘रनर अप’ घोषित हुनुभयो ।
‘म आज अत्यन्तै खुसी छु । आफैं विजेता भएको जस्तो महसुस गरिरहेको छु’ सन्तोषले भने, ‘ट्रफी हात पार्नुमात्रै जित होइन । मैंले निर्णायक तथा नेपालीहरुको मन जितिसकेको छु ।’
उत्कृष्ठ ३ मा पर्नुभएका सेफ सन्तोषले फाइनल राउण्डमा नेपाली ढाका टोपी लगाएर खाना पकाउनु भएको थियो । सिरहा कर्जन्हाका ३५ वर्षीय सेफ सन्तोषले १५ वर्षको उमेरमा भारतको गुजरातमा गई काम गर्न थालेर त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गर्नुभएको थियो ।
सन् २०१० को अन्त्यमा बेलायत आउनु भएका उहाँ अहिले सिनामोन समूहमा हेड सेफको रुपमा काम गर्दै हुनुहुन्छ । ३२ जना सेफहरुका बीचमा प्रतियोगिता भएको थियो ।
अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किनु भएको थियो । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स ‘ऐला’ पनि सर्भ गर्नु भएको थियो ।
प्रतिस्पर्धामा यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङ्गोको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार बनाएर प्रदर्शन गर्नु भएको थियो ।



