काठमाडौं,
ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय किसानले पालेको स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । १३ गते नै बर्ड फ्लु संक्रमण पुष्टि भए पनि विभागले सोमबार मात्रै सार्वजनिक गरेको हो ।
संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट ५ सय १६ हाँस, ८ सय ५४ लोकल कुखुरा र एक सय ५४ बट्टाई नष्ट गरिएको प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिनुभयो । यस्तै ९ सय ४४ गोटा कुखुराको अण्डा र ३ सय ३५ किलो दाना पनि नष्ट गरिएको उहाँको भनाइ छ ।
संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको पनि विभागले जनाएको छ ।