काठमाडौं,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले मँगलबारदेखि शुक्रबारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
अब सबै शिक्षण संस्था अर्को आइतबारमात्र सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । विषम परिस्थितिका कारण तत्काल निर्णय गर्नुपरेको उहाँको भनाइ छ । ‘हिमाली तथा पहाडी जिल्लाहरुमा (वायु प्रदुषण) छैन भन्ने कुरा आएको छ तर छोटो समयको लागि भएकोले एकरुपता दिन यस्तो निर्णय गरिएको हो’ प्रवक्ता शर्माले भन्नुभयो ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको छ ।
देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको उनीहरुले बताएका छन् । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षणसंस्था बन्द गर्ने मन्त्रालयको निर्णयप्रति सरोकारवाला निकायहरुले असन्तुष्टि जनाएका छन् । केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनीहरुको भनाइ छ ।