

काठमाडौं,
पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको कोरोना भाइरस (भेरियन्ट लाइनएज बी १.१.७) भएको पाइएको छ । बेलायतबाट नेपाल आएका ६ जनामा १३ पुसमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए नभएको खुलेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन वटा नमुनामा एस जीन टार्गेट नेगेटिभ आएकाले २७ पुसमा हङकङ प्रयोगशालामा पठाइएको थियो । ३ वटै नमुनामा नयाँ प्रकार भरियन्ट पुष्टि भएको छ । २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।
तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले कोरोनाको खोप उपलब्ध नभएसम्मका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गर्न र सचेत रहन आग्रह समेत गर्नु भएको छ ।
के हो कोरोनाको नयाँ प्रकार ?
कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । यो साधारण कोरोनाभन्दा ७० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । छिटो फैलिने भएकाले धेरै मानिस प्रभावित हुनसक्ने विशेषज्ञहरुको चेतावनी छ ।
यद्यपि अन्य असरहरु भने साधारण कोरोनाको जस्तै देखिएको छ । तर यसबारे थप अध्ययन जरुरी रहेकाले अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुने जानकारहरुले बताएका छन् ।
कसरी निस्कियो नयाँ प्रकार ?
जानकारहरुका अनुसार मौसम, अनुकूल वातावरण वा अन्य कारणले समयसँगै भाइरस थप शक्तिशाली बन्दै जान्छ । यसरी भाइरसले आफूलाई परिवर्तन गर्ने प्रक्रियालाई ‘म्युटेसन’ भनिन्छ । कुनै कमजोर व्यक्तिको शरीरमा रहेको कोरोना भाइरस थप शक्तिशाली बनेको र सोही भाइरस अर्को व्यक्तिमा सर्दा नयाँ प्रकारको बनेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।


