

काठमाडौं,
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने बताउनु भएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभयो ।
जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उहाँले जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्ने प्रतिवद्धता गर्नुभयो । रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले छिट्टै खोप ल्याइने जानकारी दिनुभएको छ ।
‘खोप अभियानका रूपमा सञ्चालन गर्ने तयारी छ । प्राप्तिदेखि लगाउनेसम्म अभियान सञ्चालन गर्ने हो,’ उहाँले भन्नुभयो, ‘छिमेकी देशहरूमा खोप आइसक्यो हामीले कहिले पाउने भन्ने चिन्ता देखिएको छ । समाचारहरू पनि आएका छन् । हामी छिट्टै खोप ल्याउँछौं ।’
मन्त्री त्रिपाठीले खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्न तयार रहेको बताउनुभयो । त्यस्तै, निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि अनुमति दिइने उहाँले बताउनुभयो । ‘हामी निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि रोक्ने मनिस्थितीमा छैनौं,’ मन्त्री त्रिपाठीले भन्नुभयो, ‘पहिला सरकारले ल्याउँछ त्यसपछि निजी क्षेत्रका बारेमा निर्णय हुनेछ ।’
खोप कार्यक्रमका लागि १६ हजार खोपकेन्द्र परिचालन गर्ने, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने पनि मन्त्री त्रिपाठीले बताउनु भएको छ ।

