

काठमाडौं,
सेयर के हो ? कति प्रकारका सेयर हुन्छन् ? त्यसमा के के फरक छ ? भन्ने जिज्ञासा भएकाहरुका लागि तलको विवरण फाइदाजनक हुन्छ भन्ने अपेक्षा सहित प्रकाशन गरिएको छ ।
सेयर भन्नाले कम्पनीको पूँजीको सबैभन्दा सानो ईकाई वा अंश हो । यसको अंकित मूल्य तोकिएको हुन्छ । नेपालमा धेरै जसो कम्पनीको प्रति ईकाई मूल्य १०० रुपैयाँ तोकिएको छ भने कतिपय कम्पनीको १० रुपैयाँ पनि ईकाई मूल्य छ । कुनै कम्पनीको एक करोड चुक्ता पूँजी छ भने यसको पूँजीलाई १०० रुपैयाँले भाग गर्दा एक लाख कित्ता सेयर हुन्छ ।
साधारण सेयर
धितोपत्रहरु मध्ये सबैभन्दा बढी प्रचलनमा रहेको बुझ्न सजिलो वित्तीय औजार साधारण सेयर हो । कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ ।
साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ, दायित्व पनि लगानीको परिमाणमै सीमित हुन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण सेयरधनीहरुले बढी जोखिम उठाउनु पर्दछ ।
साधारण सेयरधनीलाई सामान्यतया कम्पनीको साधारण सभामा भाग लिने, निर्णय प्रक्रियामा सहभागी हुने, मतदान गर्ने तथा कम्पनीको सञ्चालक हुन पाउने लगायतका अधिकार प्राप्त हुन्छ ।
अग्राधिकार सेयर
कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार भनिएको हो । अग्राधिकार सेयरधनीहरुले आफ्ना हकहितसंग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउंदैनन् ।
कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकी लाभांश वितरण गर्न नसक्दा आगामी वर्षहरुमा लाभांश वितरण गर्ने गरी जारी गरेको सेयरलाई सञ्चयशील अग्राधिकार सेयर भनिन्छ । नोक्सान भएको वर्षबाट नाफा भएको वर्षमा सार्ने गरी लाभांश जम्मा हुने व्यवस्था नगरिएको सेयरलाई असञ्चयशील अग्राधिकार सेयर भनिन्छ ।
निश्चित समयपछि फिर्ता भुक्तानी गर्ने गरी जारी गरिएको सेयरलाई विमोच्य अग्राधिकार सेयर भनिन्छ । कम्पनी रहुन्जेल अग्राधिकार रहने गरी जारी गरिएकोलाई अविमोच्य अग्राधिकार सेयर भनिन्छ । तोकिएको समयपछि साधारण सेयरमा परिवर्तन गर्न सकिनेलाई परिवर्तनीय अग्राधिकार सेयर भनिन्छ भने परिवर्तन गर्न नसकिनेलाई अपरिवर्तनीय अग्राधिकार सेयर भनिन्छ ।
ब्लु चिप सेयर
लामो समयदेखि नाफा कमाउंदै आएको तथा लगानीकर्ताहरुलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ता प्रति तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् । यी कम्पनीहरुले लगानीकर्ताको विश्वास जितेका हुन्छन नै पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचीत वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको सेयरहरुको बजार मूल्य प्रायः बढिरहेक हुन्छ ।
सौजन्यः नेपालस्टक डटकम, शिक्षा ।

