

काठमाडौं,
एक सय ४२ रनको कीर्तिमानी जितसँगै नेपालले त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले पराजित गरेको हो ।
कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङको मद्दतमा नेपालले २ सय ३८ रनको कीर्तिमानी स्कोर खडा गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्समाथि हात पारेको एक सय ४२ रनको जित टी २० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३ औं सागमा भुटानलाई एक सय ४१ रनले पराजित गरेको थियो ।
नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले ३ विकेट गुमाइ २ सय ३८ रन बनाएको थियो । नेदरल्यान्ड्सलाई सानो स्कोरमा समेट्नेक्रममा करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २ २ विकेट लिए । करणले ३ ओभरमा ११ रन खर्चे । कमलले ४ ओभरमा २२ र सन्दीपले ४ ओभरमा २६ रन खर्चेका थिए । नेदरल्यान्ड्सका माथिल्लोक्रमका दुई ब्याट्सम्यान टोबाइस भिसे र बास डे लिडलाई नेपाली फिल्डरले रनआउट गरे ।
नेदरल्यान्ड्सबाट सेबास्टियन ब्राटले २६ रन बनाई अविजित रहे । म्याक्स ओ’डाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए । यसअघि नेपालबाट कुशल भुर्तेलले ७७ रन बनाउँदै नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याएका थिए । प्रतियोगिताको ५ खेलमा चौथो अर्धशतक बनाउँदै उनले ट्वान्टी(२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । ५३ बलको इनिङ्समा उनले ८ चौका र ३ छक्का प्रहार गरे ।
आसिफ शेख २ छक्का प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।


