

काठमाडौं,
बिहीबार र शुक्रबार देशका धेरै भागमा वर्षा भएपछि विकराल बन्दै आएको वन डढेलो केही नियन्त्रणमा आएको छ । शुक्रबार बेलुकादेखि शनिबार विहानसम्म १७ जिल्लाका एक सय २० ठाउँमा डढेलो लागिरहेको छ । सबैभन्दा बढी बर्दियाका २० स्थानमा, सुर्खेतका १७ स्थानमा र कैलालीका १७ स्थानमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार सातवटै प्रदेशमा वर्षा भएको छ । महाशाखाका अनुसार सबभन्दा बढी वर्षा सिमरा (२९ मिमि) भएको छ । स्थानीय वायुका साथै पश्चिम वायुको प्रभावका कारण बुधबारदेखि देशभर वर्षा भएको हो । सूदूरपश्चिमका केही स्थानबाहेक मुलुकका धेरै स्थानमा वर्षा भएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
वन तथा भू–संरक्षण विभागको ‘वन डढेलो पहिचान तथा अनुगमन प्रणाली’ले बिहीबार मुलुकको पश्चिम भागमा मात्र डढेलो लागेको देखाएको छ । लामो खडेरीका कारण चैत दोस्रो सातापछि देशभर डढेलो विकराल बनेको थियो । एकै दिन ५ सय स्थान सम्म डढेलो लागेको थियो । डढेलोमा परेर धन, जन र जैविक विविधतामा व्यापक क्षतिभएको छ । सरकारले क्षतिको आँकलन गरिसकेको छैन ।
| जिल्ला | डढेलो संख्या |
| अछाम | २ |
| बैतडी | ५ |
| बझाङ | १ |
| बाँके | २ |
| बर्दिया | २० |
| डडेलधुरा | ३ |
| दाङ | ९ |
| दार्चुला | २ |
| डोटी | ५ |
| जाजरकोट | १४ |
| कैलाली | १७ |
| कञ्चनपुर | ४ |
| प्युठान | ४ |
| पक्षमी रूकुम | ४ |
| सल्यान | ८ |
| सप्तरी | २ |
| सुर्खेत | १८ |
| जम्माः | १२० |

