

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सोमबार हेटौंडामा एक कार्यक्रमकाबीच साक्षर प्रदेश घोषणा गरेका हुन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री शाक्यले साक्षर प्रदेश घोषणा गरेका हुन्। प्रदेशभित्र १६ देखि ६० वर्ष उमेर मुहका ९५ प्रतिशत नागरिक साक्षर रहेको मन्त्रालयले जनाएको छ।
प्रदेशका १३ जिल्लामध्ये काठमाडौं र काभ्रे साक्षर जिल्ला घोषणा नहुँदा प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न ढिलाइ भएको थियो। साक्षर प्रदेश घोषणा गर्दै मुख्यमन्त्री शाक्यले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउने बताइन्।
सुखी र खुसी नेपाली बनाउन प्रदेशका सबै नागरिलाई साक्षर बनाउन आवश्यक रहेको उनको भनाई छ। सत प्रतिशत साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरु लाग्नुपर्ने मुख्यमन्त्री शाक्यले बताइन्।
प्रदेश साक्षर घोषणा कार्यक्रमा प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीसहित प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, मन्त्रालय र निर्देशनालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।
सामाजिक विकास मन्त्रालयका अनुसार १६ देखि ६० वर्ष उमेर समुहका ४५ हजार तीनसय ४५ जना साक्षर हुन बाँकी रहेको छ।

