

तुलसी भारद्वाज निरौला,
असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ । यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता निश्चयनै प्रदान गर्छ नै । दहीमा कार्बोहाइड्रेट, चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउँदैन ।
दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ ।असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोस पनि प्रदान गर्छ ।
हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा मिथ्या छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।
‘भोजनान्ते तक्रम वैद्यस्य किंं प्रयोजनम’ आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ ।

