

विराटनगर,
खर्च अभावमा स्वास्थ्य सेवा नपाइरहेका एक ४ वर्षीय बालकको मंगलबारेका रुद्र बस्नेत र दमकका दधीराम ढकालको सहजीकरणमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । खोटाङ जिल्लाको खोट्याङ गाउँपालिकाको दुर्गम गाउँमा बस्दै आउनु भएका साजन राईका छोरा सजन मृगौला र फोक्सोमा पानी जमेर सिकिस्त हुनुहुन्थ्यो ।
झारफुक गरेर उपचार गराइरहनुभएका साजनले छोराको अवस्था जटिल बनेपछि नोबल अस्पताल विरटानगर लैजानु भएको थियो । दमकका ढकाल र मंगलबारेका बस्नेतको समन्वयमा ती बालकको उपचार भइरहेको हो । नोबेल अस्पताल बाहिर औषधि व्यवसाय गर्दै आउनु भएका बस्नेत र बुबाको उपचारका लागि नोबेल पुग्नु भएका ढकालले सजन बचाऊ अभियान सुरु गरेपछि उपचारमा सहजता भएको हो ।
बस्नेत र ढकालले सुरु गरेको अभियानमा अपेक्षा राजभण्डारी र बेलवारीकी सपना दाहाल काफ्ले जोडिन पुगेपछि अस्पतालका निर्देशक डा. सुनील शर्माले सम्पुर्ण उपचार खर्चसहित औषधि उपचार र खाना समेत निःशुल्क मिलाउनु भएको छ । ‘यो अभियानले सफलता पाउन थालेपछि आगामी दिनहरुमा आर्थिक अभाव भएका गरिब विरामीहरुलाई अभियान चलाएर अस्पतालसँगको सहकार्यमा उपचार गराउन सकिने हौसला मिलेको छ । यो अभियानलाई सफल बनाउनुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’ रुद्रले भन्नुभयो ।
विगत ५ वर्षदेखि नोबेल अस्पताल बाहिर औषधि व्यवसाय गर्दै आउनु भएका बस्नेत अफ्ठ्यारोमा परेका बिरामीहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

