पोखरा,
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवारकृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष शुक्रबार नै दाबी पेश गर्नु भएको थियो ।
प्रदेश प्रमुख पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गर्नु भएको थियो । तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता ७१ वर्षीय पोखरेल नवलपरासी बर्दघाट सुस्तापूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
२०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बन्नुभएका पोखरेल पराजित हुनु भएको थियो । त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बन्नु भएन । यसअघि एक कार्यकाल कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गर्नुभएका उहाँ १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित हुनु भएको थियो ।