

चौतारा,
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ इर्खुभन्दा केही तल मानेडाँडामा २ जना युवाले १० वटा टनेलमा विभिन्न तरकारी फलाइरहेका छन् । त्यो पनि प्राङ्गारिक प्रविधिबाट । ५ मिटर चौडाइ र १२ मिटर लम्बाइ भएका ५ वटा टनेलमा गोलभेंडा फलिरहेका छन् । एक हप्तापछि बजारमा लैजानका लागि तयार हुँदैछन् । बाँकी ५ मध्ये ३ वटामा लगाएको भेँडे खुर्सानी फलिरहेको छ भने २ वटामा लगाएको अकबरे खुर्सानी फुल्दैछन् । टनेलबाहिर फर्सि फलिरहेको छ भने ब्रोकाउली, भण्टा लगायतका तरकारी हुर्किरहेका छन् भने बन्दा र काउलीको बेर्ना रोप्ने तयारी अवस्थामा छन् । टनेलभन्दा केही माथि उही आकारका ९ वटा टनेलमा कन्ये र गोब्रे च्याउ रोपिएको छ । ६ वटा टनेलमा लगाइएको कन्ये च्याउले उत्पादन दिन थालेको छ भने गोब्रे च्याउको उम्रने तयारीमा देखिन्छ ।
अर्गानिक च्याउ, तरकारी, कुखुरा तथा पशु फर्मका सञ्चालक हुनुहुन्छ चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ मेलचौरका सागर भुजेल र वडा नम्बर ५ चौताराका ठाकुर श्रेष्ठ । यी दुई युवाले उपभोक्तालाई सस्तो दरमा स्थानीय ताजा उत्पादन खुवाउने उद्देश्यसहित ५ महिना अघि टनेल निर्माणको काम सुरु गरेका थिए । यो अवधिमा एक टन कन्ये च्याउ विक्री भइसकेको सञ्चालक सागर भुजेल बताउनुहुन्छ । ‘हामी अहिले दैनिक ३० केजीसम्म कन्ये च्याउ टिपीरहेका छौँ । अहिले होलसेलमा २ सय रुपैयाँमा विक्री भइरहेको छ ।’ उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म झण्डै २ लाख रुपैयाँ बराबरको च्याउ विक्री भएपछि हामीलाई उत्साह थपिएको छ । च्याउ लगायतका तरकारी चौतारा लगायतको स्थानीय बजारमै विक्री भइरहेको छ ।’
११ रोपनी क्षेत्रफल भाडामा लिएर तरकारी, च्याउ तथा कुखुरासमेत पालिरहेको सञ्चालक भुजेलले बताउनुभयो । ‘८ सय कडकनाथ अर्थात कालो कुखुरा र एक सय लोकल कुखुरा पालिरहेका छौँ । ११ मध्ये ६ रोपनी जग्गाको लागि हामीले वार्षिक ३६ हजार रुपैयाँ भाडा दिने सम्झौता गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘टनेल बाहिर फलेको फर्सि बिक्री गर्न थालेको एक हप्ता भयो । दैनिक २० देखि २५ किलो फर्सि विक्री भइरहेकोमा ४० देखि ५० रुपैयाँका दरले विक्री भइरहेको छ ।’
१३ लाख रुपैयाँको लगानीमा सुरु भएको फर्मले तत्काल ३ जनालाई रोजगारी दिएको छ । प्राङ्गारिक भने पनि अहिले ८० प्रतिशतमात्रै प्राङ्गारिक उत्पादन गर्न सकिएको युवा सागरको भनाइ छ । ‘हामीले केही मात्रामा रासायनिक मलको प्रयोग गरेका छौ । विषादीका लागि भने वरिपरी पाउने असुरो, तितेपाती, खुर्सानी, लसुन, गाई भैंसीको पिसाव आदिको प्रयोग गरेर जैविक विषादी बनाएका छौ ।’ उहाँले भन्नुभयो, ‘नजिकै रहेको महाकाली सेतीदेवी आधारभूत विद्यालयमा विद्यार्थीहरुको पिसाव संकलन गरेर तरकारीबालीमा प्रयोग गर्ने गरी तयारी गरिरहेका छौँ । पिसाव संकलनका लागि आवश्यक ड्रमहरु खरिद गरिसकेका छौ । विद्यालय खुलेपछि पिसाव संकलन हुन्छ ।’
फर्मलाई बिस्तार गरी अर्कोवर्ष कम्तिमा ५० वटा टनेल पुर्याउने योजना रहेको सागरले बताउनुभयो । तरकारी, च्याउ तथा कुखुरा पालनलाई बिस्तार गर्नुका साथै बङ्गुर पालनको योजना रहेको बताउने सागर कम्तिमा १० जनाले फुलटाइम रोजगारी पाउने दावी गर्नुहुन्छ । ‘चौतारा साँगाचोक नगरपालिकासँग पकेट क्षेत्र कार्यक्रम अन्तर्गत च्याउ खेतीका लागि अनुदान पाउन आवेदन दिएका छौँ । त्यो अनुदान पाउने बित्तिकै कन्ये तथा गोब्रे च्याउको उत्पादन क्षेत्र बढाइहाल्छौँ ।’ उहाँले भन्नुभयो, ‘उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर उत्पादन गरिरहेका कारणले हामीले नाफालाई त्यत्ति ध्यान दिएका छैनौ । तर थोरै नाफा त फर्म चलाउनका लागि चाहिन्छ नै ।’
स्थानीय सरकारबाट पहिलो पटक अनुदान पाउन लागेको बताउने सञ्चालक सागर नगरपालिकाबाट पटक पटक अनुगमन, प्राविधिक सहयोग र पृष्ठपोषणको आशा गरेको बताउनुहुन्छ । ‘अहिलेसम्म हामी नगरपालिकामा सहयोग माग्न भनेर गएका छैनौं । आफ्नै लगानीबाट काम गरिरहेका छौँ ।’ उहाँ भन्नुहुन्छ, ‘आगामी दिनमा नगरपालिकासँग पनि समन्वय गछौँ । हाम्रो उत्पादन बढाउनका लागि आगामी दिनमा पनि केही अनुदान र तरकारी, च्याउ लगायतका उत्पादनको बजारिकरणका लागि नगरपालिकाबाट सहयोग पाउने छौँ भन्ने अपेक्षा छ ।’
यी दुई युवाले पहिलो पटक फर्म सुरु गरेका भने होइनन् । ३ वर्ष अगाडी च्याउ खेतीका लागि २ लाख भन्दा बढी डुबाएपछि अहिले अझ व्यवस्थित र आधुनिक तरिकाले उत्पादन सुरु गरेका हुन् । ‘हामीले फर्म त ३ वर्ष अगाडी नै दर्ता गरेका थियौ । त्यही वर्ष परीक्षणका रुपमा गोब्रे च्याउ खेती गरेको पनि हो ।’ उहाँले भन्नुभयो, ‘एक सिजनको उत्पादन राम्रै भएको थियो । तर प्राविधिक रुपमा केही कमजोरी भयो होला र खडेरीका कारण पनि उत्पादन लिन सकिएन । अहिले हामीले प्रविधि सिकेर व्यवस्थित तरिकाले खेती गरेका छौ ।’
फर्ममा आएर तरकारी तथा च्याउ खेती प्रविधि सिक्न सकिने बताउँदै सागरले सिक्न चाहने व्यक्तिहरुलाई ९८४१४७९३७९ वा ९८१८६८२१६९ मा सम्पर्क राख्न आग्रह गर्नुभएको छ ।





