२०८३ मंसिर १२, शुक्रबार
 

कौसी खेतीः भान्छामा विष र खर्च घटाउने उपाय

prabhu bank home loan

काठमाडौं,

कोरोना सङ्क्रमणको कारण अहिले घरबाहिर हिड्ने, घुम्ने समय छैन । घरमा नै बसिरहेका बेला गर्न सकिने एउटा काम हो कौसी खेती । तपाईसँग खेत बारी छैन, तर छत वा कौसीमा अलिकति ठाउँ छ भने तरकारी खेती गर्न सक्नुहुनेछ ।

काठमाडौं महानगरपालिका ७ का केशव आचार्यले घरको छतमा नै तरकारी खेती गर्नुभएको छ । छतमा ४ फिट चौडाइ र १० फिट लम्बाइ भएको सानो टनेल छ । सिल्पलिन अर्थात प्लाष्टिकमा नरिवलको जटाको धुलो (कोकोपिट) मा माटो र कम्पोष्ट मल मिसाएर फर्सी, काँक्रा, गाजर, चुकन्दर, धनियाँ, साग लगायतका तरकारी फलाउनु भएको छ । ‘रायोसहित धेरै प्रजातिका साग, धनियाँ, चम्सुर, लसुन खायौँ । अहिले जुकेनी फर्सि फलिरहेको छ, काँक्रो र करेला चिचिला लागेको छ ।’ आचार्य भन्नुहुन्छ, ‘तीन महिनाअघि बनाएको कौसी बारीमा झण्डै ३० हजार लगानी भएको छ । अब वर्षे तरकारी लगाइन्छ, दशैँतिर फल्ने गरी फेरी लगाइन्छ, हिउँदका लागि फेरी लगाइन्छ । तीन वर्षमा लगानी उठ्छ ।’

आफैँले फलाएपछि भान्छामा तरकारीबाट आउने विषयको मात्रा घटाउन सकिने र कौसी बारीमा काम गर्दा शरीरिक व्यायामसमेत हुने भएकोले स्वास्थ्य अझ राम्रो हुने आचार्यको अनुभव छ । ढलान घरको कौसी वा छतमा कोकोपिटमा माटो र कम्पोष्ट मल मिसाएर गमला वा प्लाष्टिकका भाडामा खेती गर्न सकिन्छ । अर्थविद समेत रहनु भएका आचार्य थोरै समय र खर्चमा आफैले फलाएको तरकारी खाँदा रकम मात्रै जोगिने नभइ स्वास्थ्यलाई पनि फाइदा पुग्ने बताउनुहुन्छ । ‘सिंगापुर जो इण्डोनेसियाबाट बालुवा किनेर ल्याएर घर बनाउनु पर्ने देशले पनि कौसीमा धेरै चिज फलाएर अरु देशमासमेत निर्यात गर्छ । कौसी बारी बनाएर तरकारी फलफूल फलाउनु भनेको घरको खाली जग्गाको सदुपयोग पनि हो’ उहाँले भन्नुभयो ।

काठमाडौंका झण्डै ६० लाख ढलान घरको छत तथा कौसीमा तरकारी फलफूल लगाएर वर्षेनी आयात हुने तरकारीलाई रोक्न र स्वदेशीने पैसा बचत गर्न सकिने अर्थविद आचार्यको भनाइ छ । ‘काठमाडौंका १५ लाख घरधुरीले मात्रै पनि खेर जाने छत र कौसीमा तरकारी फलाए भने हामीले भारतबाट आयात गर्ने तरकारी फलफूल घटाउन सक्छौँ ।’ उहाँ भन्नुहुन्छ, ‘तरकारीका लागि बाहिरिने करोडौँ रकम रोक्न सकियो भने व्यापार घाटा कम गराउन मद्दत गर्छ र सर्वसाधारणको स्वास्थ्यलाई पनि आफ्नै उत्पादनले राम्रो गर्छ ।’

‘आफूले फलाउँदा प्राङ्गारिक खान पाइयो । अर्को कुरा मान्छेलाई बरालिने वा समय बिताउने ठाउँ हुन्छ । गोडमेल गर्ने, पानी हाल्ने, थाँक्रा दिने, अनुगमन गर्ने गर्दा समय बित्छ ।’ आचार्य भन्नुहुन्छ, ‘शहरमा जग्गा किनेर घर बनाउन समेत गाह्रो भएको बेला खेती गर्न छुट्टै जग्गाको सम्भावना छैन । बरु खेर जाने कौसी र छतलाई नै तरकारी फलफूल फलाउन सदुपयोग गर्नुपर्छ ।’

५ जनाको परिवारलाई औसतमा दिनको २ सय रुपैयाँको तरकारी आवश्यक पर्छ, वर्षमा कम्तिमा ७० हजार रुपैयाँ तरकारी किन्न खर्च हुन्छ । कौसी पनि हराभरा हुने, आफैँले फलाएको तरकारी चाहेको बेला टिपेर खान पनि पाइने । माटोमात्रैमा भन्दा कोकोपिटमा माटो र मल मिसाएर खेती गर्दा कौसीलाई भार नपर्ने गरी तरकारी खेती गर्न सकिने अभियान एग्रोका व्यवस्थापक सुवास पण्डित बताउनुहुन्छ ।

‘माटोको मात्रा धेरै हुन्थ्यो भने घरलाई भार पर्ने हो । ग्रो व्यागमा पनि तरकारी लगाउन सकिन्छ तर त्यसमा पानी जम्ने समस्या बढी आउन सक्छ ।’ उहाँ भन्नुहुन्छ, ‘टनेल बनाएपछि परेको पानी र शीतबाट जोगाएर प्राङ्गारिक तथा विषादी कम भएको तरकारी फलाउन सक्नुहुन्छ । टनेल नहुँदा वर्षाको बेला र हिउँदमा राम्रो उत्पादन लिन सकिन्न ।’ बजारको तरकारीबाट भान्छामा आउने विषादीको मात्रा घटाउने पहिलो उद्देश्यसहित कौसी बारीको अवधारणा सुरु गरिएको अभियान एग्रोले जनाएको छ । सानो र खेर गइरहेको कौसी वा छतबाट वर्षभरीका लागि पुग्ने तरकारी फलाउन सकिन्छ भन्ने नभइ विषादी मिसिएको तरकारीको मात्रा घटाउने, प्राङ्गारिक तरकारी फलाएर खाएर स्वास्थ्यमा फाइदा पुग्ने पण्डित बताउनुहुन्छ ।

अहिलेसम्म काठमाडौंका ६७ घरमा फलामको टेन्ट फ्रेम सहितको सानो टनेल, थोपा सिँचाइ सेट जडान गरेर व्यवस्थित तरिकाले कौसी खेती भइरहेको पण्डितको भनाइ छ । कौसी खेती गर्न चाहनेले स्थानीय तहका कृषि प्राविधिक वा विज्ञसँग सल्लाह गरेर पनि खेती गर्न सक्छन् । तर यसको आधुनिक प्रविधि सिकेर खेती गर्न सके फाइदाजनक हुने कौसी खेती अभियानमा लाग्नुभएका पण्डित बताउनुहुन्छ ।

‘हामीले ४ फिट चौडाइ र १० फिट लम्बाइ भएको एउटा मोडल र अर्को ५ फिट चौँडाइ र ६ फिट लम्बाइ भएको फलामको टेन्ट फ्रेम सहितको मोडल तयार पारेका छौँ ।’ उहाँले भन्नुभयो, ‘प्याकेज अन्तर्गत घरमैँ पुगेर जडान गरिदिन्छौँ । दुई पटकका लागि बीउ र बिरुवा दिन्छौँ । यसका साथै दुई पटक प्राविधिक सहयोग समेत गर्दा २५ देखि ३० हजारमा जडान गर्न सकिन्छ ।’

कौसी खेती गर्दा समय बित्ने, तनाव कम हुने, शारीरिक व्यायाम हुने र भान्सामा तरकारी अभाव पनि नहुने भएकाले घरमै बस्नुपर्ने यो समयलाई तपाइले कौसी खेती गरेर सदुपयोग गर्न सक्नुहुने छ ।

साभारः सीआईएनखबर डटकम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने