

काठमाडौं,
विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा विहीबार राती भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्नुभयो । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाउनु भएको थियो ।
चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पायो र त्यसमा अन्जन विष्टले सहजै गोल गर्नुभयो । गरेनन् । यसअघि २०१९ मा भएको छनोटकै खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । उक्त खेलमा दुवै गोल अन्जन विष्टले गर्नुभएको हो ।
दोस्रो हाफमा नेपालले एक गोल थप्यो । सुनिल बलको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुगले त्रिभुवन आर्मी फुटबल क्लबका टिममेट सुमन अर्यालको क्रसमा गोल गर्नुभयो । समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेको थियो । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।
चाईनिज ताईपेको यो छैटौं हार हो । अंकविहीन ताइपेई तालिकाको पुछारमा रहेको छ । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ । कोरोना भाईरसको महामारीको कारण नेपालले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा कुवेतमा खेलिरहेको हो ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।


