

काठमाडौं,
प्रदेश नम्बर २ सरकारले संघीय सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा सभावेश भएको ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम सच्याउन आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले विहीबार विज्ञप्ति निकालेर बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गर्नुभएको हो ।
केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी मुख्यमन्त्री राउतको छ । सरकारले चुरे दोहन हुने गरी ल्याएको कार्यक्रमबारे गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री राउतको भनाइ ।
सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रूपमा रहेको भन्दै राउतले जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकोले विरोध गर्नुपरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ । चुरे दोहनले सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित छ,’ उहाँले भनेका छन्, ‘सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नम्बर २ बाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारका रूपमा रहेको भूभाग मरूभूमिकरण भई शतप्रतिशत जनताको विल्लीबाठ हुने निश्चित छ ।’


