काठमाडौं,
कोरोना भाइरस संक्रमणबाट एकैदिन २ सय ४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २ सय २५ जनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।
पछिल्ला केही दिनमा मृत्यु दर घटेर दिनको दुई सयभन्दा तल पुगेको थियो । तर, फेरि मृतकको संख्या बढेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार एक सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय ९ गरी ८ हजार एक सय ७३ जना संक्रमित भेटिएका हुन् ।
पीसीआर विधिबाट गरिएको २१ हजार एक सय ३९ परीक्षणमा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको र एन्टिजेन विधिबाट गरिएको ७०० परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ रहेको छ । यो सँगै नेपालमा निको हुनेको संख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ८ हजार ४ सय १८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ४ सय १८ पुगेको छ भने क्वारेन्टाइनमा ८ सय ५४ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २८ लाख ३४ हजार ९८ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।