

काठमाडौं,
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा गए राती १२ बजेबाट लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञाका बेलामा पनि तीव्र रुपमा फैलिएपछि यस्तो निर्णय गरिएको हो ।
औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय विहीबारदेखि बन्द गर्न गराउन आदेश जारी गरिएको छ ।
अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ । यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाइ छ ।
मानिसको भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । साथै सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

