

काठमाडौं,
संसदले विश्वासको मत नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनुभएको हो ।
आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा एक सय २४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २ सय ३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् । बैठकमा ३४ सांसद अनुपस्थित भए ।
प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो । संसदको सबभन्दा ठूलो दल एमालेका एक सय २१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफ्नै दलको सबै मत पाउनु भएन । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एक सांसद तटस्थ बसेका छन् ।

