

काठमाडौं,
नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोना संक्रमण वृद्धि भइरहेकोले रोकथामका लागि अपिल गर्नुभएको छ । कोरोनाविरूद्ध खोप निःशुल्क र सर्वसुलभ बनाउन पनि माग गर्नुभएको छ । नेता नेपालले १३ बुँदामा आफ्ना सुझाव प्रस्तुत गर्नुभएको छ ।
नेपालले अस्पतालहरूमा शय्या थप गर्नेदेखि अक्सिजनलगायत सामग्रीको व्यवस्थापन गर्न मागसमेत गरेका छन् । ‘अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछु। नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तुरुन्त चालू गरी अस्पतालहरुलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको हो,’ नेता नेपालले अपिलमा भन्नुभएको छ ।
हेर्नुहोस् नेपालको कोरोना (कोभिड १९) को बढ्दो संक्रमण रोकथामका लागि अपीलः
१) कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध हो । सरकारले त्यस्ता पक्षलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्न जोडदार माग गर्दछु । साथै कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवनरक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु । कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अनुरोध गर्दछु ।
२) देशभरका अस्पतालहरुमा अक्सिजन र शैया अभावका कारण भयावह अवस्था सिर्जना भएको छ । कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको प्रष्ट चित्रण गर्छ । यसबाट जनमानसमा आक्रोश बढिरहेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछु । नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तुरुन्त चालू गरी अस्पतालहरुलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको हो ।
३) कुन अस्पतालमा शैया खाली छ, कुनमा छैन भनेर थाह पाउन मुस्किलप्रायः छ । त्यसैले एकीकृत सूचना प्रणालीका लागि बेवसाइट र एप्स लगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोही अनुसार सेवा दिन माग गर्दछु । अहिले समाजसेवी लगायत धेरै निकाय तथा संघ–संस्थाहरुले स्वःस्फूर्तरुपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स, सवारी साधनको व्यवस्थापन, राहतका कार्यक्रम आदि अगाडि बढाएको देखिन्छ । ती सबै सेवाहरुलाई एकीकृत रुपमा अघि बढाउन आह्वान गर्दछु ।
४) कोरोनाको हाइस्पटका रुपमा रहेका क्षेत्रहरुमा कडाइ गरिनुपर्दछ । कन्ट्याक ट्रेसिङलाई बढाउँदै लग्नुपर्दछ । पिसिआर, स्वाब परीक्षणलगायत विज्ञहरुले सुझाएका पक्षहरुलाई तुरुन्तै कार्यान्वयन गरिनुपर्दछ । संक्रामक रोगका विज्ञहरुलाई समेटेर संयन्त्र बनाई महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गरिनुपर्छ ।
५) अहिले अस्पतालहरुले धान्न नसक्ने गरी बिरामी बढेका छन् । अस्पताललाई आवश्यक सबैखाले स्रोत साधनहरुको पर्याप्त व्यवस्था गरिनुपर्दछ । आइसियू, भेन्टिलेटर लगायतका बेडहरु थप्ने कार्य हुनुपर्छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ–संस्थालाई आह्वान गर्नुपर्दछ । स्वास्थ्यकर्मीलाई पिपिई लगायतका अत्यावश्यक सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ।
६) स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आदि जो बिरामीको उपचार कार्यमा संलग्न छन्, उनीहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउनुपर्दछ । उनीहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता र बीमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गरिनुपर्दछ ।
७) कोरोना नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टाइन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारी साधन व्यवस्थापन लगायतका पक्ष व्यवस्थित रुपमा गरिनुपर्दछ ।
८) धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अतिविपन्न र सीमान्तकृत समुदायलाई दैनिक रुपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरु लक्षित राहत प्रबन्ध गर्न अनुरोध गर्दछु । केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा भए–गरेका सबै खर्च विवरण पारदर्शी बनाउनुपर्दछ ।
९) निषेधाज्ञाका समयमा जेष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिलाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्दछु । नवजात शिशु, गर्भवती, सुत्केरी तथा स्तनपान गराउने महिला, मृगौला रोगी तथा क्यान्सरका रोगीहरुलाई अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु ।
१०) कालोबजारी अनुगमन र नियन्त्रण गर्न राजनीतिक दल, निजीक्षेत्र, पत्रकार, नागरिक समाज, विभिन्न संघसंस्थाको एकीकृत संरचना बनाएर प्रभावकारीरुपमा केन्द्रदेखि गाउँसम्म परिचालित हुन अपील गर्दछु ।
११) सामाजिक रुपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान गर्दछु । अस्पतालमा बिरामीको संख्या थपिन नदिन समुदायकै महत्वपूर्ण भूमिका छ । स्वास्थ्य सुरक्षाको मापदण्ड समुदायबाटै पूरा भयो भने अवश्य नै अस्पतालमा बिरामीको संख्या घट्ने छ ।
१२) कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्ण व्यक्तिहरुप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । कोरोनाको कारणले बिरामी हुनु भएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरुको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पुर्याउन सरकारलगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।
१३) र अन्तमा, स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु ।

