

एजेन्सी,
इजरायलको मेरोन शहरमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । सरकारका तर्फबाट मर्नेहरु तथा घाइतेको तथ्याँक सार्वजनिक नभए पनि स्थानीय अखबारले ३८ को मृत्यु र दर्जनौं घाइते भएको उल्लेख गरेका छन् ।
यो घटना उत्तरी इजरायलस्थित माउन्ट मेरोन पहाडको फेदमा रहेको मेरोन शहरमा परम्परावादी यहुदीहरुले मनाइरहेको चाडको हो । कोरोना महामारी सुरु भएयताकै सबैभन्दा ठूलो कार्यक्रमको आयोजना भएकोमा हजारौँ व्यक्तिहरु सहभागी भएको बीबीसीले लेखेको छ । स्थानीय अखबार हारेत्जले भने कम्तिमा ४४ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले ठूलो विपद आइलागेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । वार्षिक पर्व मनाउन दशौं हजार यहुदीहरु एकैठाउँमा भेला भएका बेला भागदौड मच्चिएको थियो । पर्वका अवसरमा श्रद्धालुहरु आगो बाले प्रार्थना गर्छन् र सँगसँगै नाचगान पनि हुनेगर्छ । भिड धेरै भएकाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको आपतकालीन सेवा प्रदायकहरुले जनाएका छन् ।
यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको थियो । खोप कार्यक्रम जारी भएका कारण यस वर्ष कार्यक्रम आयोजना गरिएपछि पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।

