२०८३ असार ८, सोमवार
 

असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै ।
prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताउनु भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको बर्ष रहेकोमा जोड दिनुभयो ।

कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परे पनि २०७७ सालमा ठूला दीर्घकालीन महत्वका काम भएको प्रधानमन्त्रीको दाबी छ । दशकौं पछिको सफलता प्राप्त गर्दे मेलम्चीको पानी काठमाडौ आईपुगेको, अतिक्रमित भूमि फिर्ता, पूर्ननिर्माणका कामहरूले पूर्णता पाउने क्रम तिब्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरु बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको सिलन्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकुल वातावरण बनेको प्रधानमन्त्रीको भनाइ छ । कोभिड १९ महामारीको प्रतिकुल अवस्थामा पनि अनलाईन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उहाँले गर्नुभयो ।

कोभिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै प्रधानमन्त्रीले त्यसबाट अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा असर पुर्‍याए पनि सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिदै आएको स्पष्ट पार्नुभयो ।

आशा जगाउने काम भएका छन्

प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भईरहेको बताउनुभयो । सरकारले गरेका कामहरू नदेख्ने समूहबाट निरन्तर जनता भड्काउने प्रयास भईरहे पनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरु लगातार भईरहेको दाबी उहाँको छ ।

प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, प्रतिदिन १२ वटा आवासगृह निर्माण भईरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदन भण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्गलगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भईरहेको फेहरिस्त पनि प्रस्तुत गर्नुभयो ।

महिनाको १ सय रुपैयााँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता भत्ता अहिले दिनको १ सयमा पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिनुभयो । ५ लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या थपिएका, २०७५ मंसिर ११ गतेबाट नै मजदुरका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा भत्ता सुरू गरेको तथा भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण भई ११ दिनपछि उद्घाटन गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

हवाई मैदान र त्रिभुवन विमानस्थल लगायतका विमानस्थलमा नयाँ पन ल्याईएको, विद्यालयहरु पुनर्निर्माण हुने क्रम बढेको भन्दै उहाँले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको सुनाउनुभयो ।

‘मेलम्चीको पानी ल्याउने सपनामा जस लिने, श्रेय लिने । हामीलाई जस वा श्रेय लिने होडवाजीमा सामेल हुनुछैन । हामीलाई देशलाई माथि उठाउनु छ । आधुनिकीकरण गर्नु छ । विज्ञान प्रविधिको काम गर्नु छ र देशलाई अघि बढाउनु छ । देशलाई डिजिटल प्रणालीमा लैजानु छ’ उहाँले भन्नुभयो ।

२०७८ साल भित्र सडक बालबालिकाको अन्त्य गर्ने बताएको र त्यो पुरा गर्ने दोहोर्‍याउनुभयो । सहारा गुमाएका ज्येष्ठ नागरिक र अभिभावक गुमाएका बालबालिकाको सहारा सरकार रहेको भन्दै सबैले सम्मानित जीवन बाँच्न पाउने स्थितिको निर्माण सरकारले गर्ने ओलीको भनाए छ ।

‘यो २०७८ साल भित्र सडक बालबालिका, सडक मानव र सडकमा भिक्षाम् देही भन्ने स्थिति अन्त्य गर्ने भन्ने कुराहरु पुरा गर्छौ भनेर भनेका छौ । २०७७ सालमा नै क्याम्पेन गरेर सडकबालबालिका नरहेको स्थिति बनाईसक्यौ’ उहाँले भन्नुभयो ।

एसिड आक्रमण विरूद्ध, बलात्कार र बलात्कारपछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेश मार्फत कडा कानुन ल्याएको भए पनि संसदमा पेश गर्न नदिईएको गुनासो प्रधानमन्त्रीको छ ।

हिंसा अन्त्य भएको

२०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको र २०७७ सालमा हिंसाको बाटो लिईरहेको समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएकालेले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको प्रधानमन्त्रीले दाबी गर्नुभएको छ ।

२०७७ सालमा लुम्बिनीमा ५ हजार क्षमताको सभाहल सञ्चालनमा आएको, गोदाबरीमा ३ हजार क्षमताको सभाहल र संसद भवन निर्माणको काम भईरहेको उल्लेख गर्दै जनतामा आशा जगाउने ढंगले विभिन्न विकास निर्माणका काम भईरहेको बताउनुभयो ।

कोरोनामा सर्तकता अपनाउन आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जोखिम रहेकाले स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभएको छ । महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोस्रो र तेस्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दै उहाँले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

‘सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन। कतिपयले आजै लकडाउन हुन्छ। भरे नै लकडाउन हुन्छ। भोलि नै लकडाउन हुन्छ । भन्ने हल्ला चलाएका थिए। तर सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन। तर हामीले हेक्का राख्नुपर्छ, युरोपका कतिपय विकसित भनिएका देशहरु, जब महामारी ह्वात्तै फैलियो, त्यस्तो अवस्थामा लकडाउनमा गएका छन्। दोस्रो चरणमा र तेस्रो चरणमा फैलिएको लहरबाट बच्नका लागि लकडाउनको सहारा लिनुपर्ने अवस्था छ’, उहाँले भन्न्ुभयो, ‘हामी चाहन्छौं हाम्रो सर्तकताको विधिबाट परिस्थितिलाई विग्रन नदिऔं भन्ने आग्रह गर्दछौं। अस्ति मैले बोल्दा लकडाउन गर्ने धम्की दियो भन्ने पनि केहीले भने। म धम्की दिने हैसियत पनि राख्दिनँ । धम्कि दिनुलाई उचित पनि ठान्दिनँ। त्यस्तो अवस्था नआओस् भनेर ध्यान दिनुपर्छ। परिस्थिति विग्रियो भने त्यहाँ पनि पुग्नुपर्ने हुनसक्छ भनेको हो। त्यसैले हामी सर्तक भएर अघि बढ्नुपर्छ।’

एमसिसि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसिसि प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुँदा एमसिसिमा सम्झौता गरिएको उल्लेख गर्दै उहाँले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताउनुभयो । उहाँले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंवैधानिक हुने तर्क गर्नुभयो ।

‘नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुँदा एमसिसि सम्झौता गरिएको गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौं। टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौ । त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैन। त्यो गर्नैपर्ने हुन्छ । तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामीले झेलिरहेका छौं’, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने